झापामा निशुल्क शैक्षिक अभियान सञ्चालन गर्ने तयारी



 

बिर्तामोड–झापाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने दलित‚ गरिब‚ जेहेन्दार‚ सीमान्तकृत विद्यार्थीहरूलाई कक्षा १२ सम्म निशुल्क अध्ययन गराउन झापा जिल्लामा शैक्षिक अभियान सञ्चालन गरिने भएको छ ।

झापाली समाज यूएसए‚ झापा विकास मञ्च र जिल्ला सहकारी संघ झापाको सहकार्यमा सो अभियान सञ्चालन गरिने झापा विकास मञ्चका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले बताए ।

‘सुरूवाती चरणमा झापाका केही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छनौट गरी यो अभियान सुरू गरिने छ’, वरिष्ठ अधिवक्ता उप्रेतीले भने ।
अभियानको क्षेत्र विस्तार गरी भविष्यमा त्यस्ता विद्यार्थीलाई पूर्ण निशुल्क शिक्षाका लागि विद्यालय नै सञ्चालन गरिने लक्ष्य लिइएको मञ्चका सचिव नारायणप्रसाद पराजुली बताउँछन् ।

यसैवीच, झापा विकास मञ्चले काठमाडौंमा आफ्नो साधारण सभा सम्पन्न गर्दै नयाँ कार्य समिति समेत छनौट गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा हरिप्रसाद उप्रेती‚ उपाध्यक्ष भरतकुमार घिमिरे‚ सचिव नारायणप्रसाद पराजुली र कोषाध्यक्षमा जीवनकुमार घिमिरे छन् ।

सदस्यहरूमा जीवनाथ प्रसाई‚ हिराबहादुर खत्री र गंगाप्रसाद भेटवाल छन् । मञ्चको ११ सदस्यीय कार्यसमितिका अन्य सदस्यहरू कार्यसमितिले नै मनोनयन गर्ने मञ्चका निवर्तमान अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकले बताए ।