ईश्वर पोखरेल भन्छन्, महाधिवेशनको तयारीमा लागाैँ



 

बिर्तामोड- नेकपा सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले महाधिवेशनमा लाग्नुको विकल्प नभएको बताएका छन् । नेकपा भित्रको आन्तरिक विवाद छताछुल्ल भएका बेला पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आह्वान गरेका हुन् ।

नेता पोखरेलले पार्टी एकता गर्दा पूरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकीकृत गर्न महाधिवेशनको तयारीमा लाग्न आह्वान गरेका छन् । राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर पार्टी एकता गरेको स्मरण गर्दै नेता पोखरेलले केन्द्रीय कमिटीले सर्वसम्मत महाधिवेशन लागि तय गरेको मितिलाई नबिर्सिन आग्रह गरेका छन् ।

नेकपाको केन्द्रीय कमिटीले आगामी चैतमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टी भित्रको आन्तरिक विवाद चर्किंदै गएपछि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा एकता महाधिवेशन गर्न प्रस्ताव गरेपछि यो विषयले पार्टी बैठकमा प्रवेश पाएको छ ।