झापाको बाह्रदशी गाउँपालिका सिल



बिर्तामोड- समुदायका दुई जना नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि झापाको बाह्रदशी गाउँपालिका सिल गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस फैलिएको आशंका गर्दै गाउँपालिका सिल गरिएको हो ।

दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएकाले अर्को निर्णय नहुन्जेलसम्म लागू हुने गरी साविक राजगढ गाविस सिल गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर १,२  र ३ लाई सिल गरिएको हो ।

नेकपाका स्थानीय एकजना नेता र औषधि व्यवसायीमा कोरोना भाइरस देखिएपछि  स्थानीय क्षेत्रका नागरिक चिन्तित भएका छन् । संक्रमित दुवैजनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ ।