प्रहरीले लियो ४५ लाख कमिसन र सुराकी खर्च



 

काँकडभिट्टा- नेपाल प्रहरी र सशस्त्र प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टाबाट ४५ लाख रुपैयाँ कमिसन र सुराकी खर्च बुझेका छन् । अवैधरुपमा भइरहेको चोरीनिकासीकाे सुराकी दिएको र पक्राउ गरी प्रतिवेदनसहित आवश्यक कारबाहीका लागि भन्सार बुझाएकोमा  उनीहरुलाई उक्त रकम दिइएको हो ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव राज विश्वकर्माले दुईवटा सुरक्षा निकायले एक वर्षको अवधिमा सुराकी र कमिशन बापत् ४५ लाख ७३ हजार रूपैयाँ लगेको जानकारी दिए । भन्सार कार्यालयका अनुसार सबैभन्दा बढी रकम नेपाल प्रहरीले लगेको छ ।

नेपाल प्रहरीले सुराकी र कमिशनबापत २९ लाख २३ हजार रुपैयाँ लगेको छ । सशस्त्र प्रहरीले १४ लाख ६९ हजार रुपैयाँ कमिसन र सुराकीबापत लगेको मेची भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयको नियम अनुसार कसैले सुराकी दिएवापत लिलामी रकमको २० प्रतिशत कमिसन र सुराकी बापतको १५ गरी ३५ प्रतिशत रकम दिने व्यवस्था छ ।