एक वर्षका लागि विश्वकप छनोट खेल स्थगित



 

झापा– विश्वकप फुटबल प्रतियोगिताका छनोट खेल एक वर्षका लागि स्थगित गरिएको छ। कोरोना महामारीका कारण एसियन फुटबल कन्फेडेरेसन ९एएफसी० ले छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गर्ने निर्णय बुधबार गरेको हो।

नेपाल समयका अनुसार एएफसीको यो निर्णयसँगै आगामी असोज–कात्तिकमा तय भएका विश्वकप छनोट खेल र एसियन कप छनोटका बाँकी खेल स्थगित भएका छन्। विश्वकप छनोटअन्तर्गत नेपालले असोज २२ गते चाइनिज ताइपेईसँग, असोज २७ मा अस्ट्रेलिया र कात्तिक २७ मा जोर्डनसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका थियो।

समूह बीमा रहेको नेपाल समूहको चौथो स्थानमा छ। एन्फाले भदौ १ देखि छनोट खेलका लागि अभ्यास खेलको कार्यतालिका तय गरेको छ। खेलका लागि राष्ट्रिय फुटबल टोलीका सबै सदस्य काठमाडौंमा क्वारेन्टिनमा छन्।

खेलाडी र अफिसियलको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिसकिएको छ। एन्फाले भने अभ्यास खेलका बारेमा केही निर्णय गरिसकेको छैन। एन्फा प्रवक्ता किरण राईले भने, ‘यसबारे हामी चाँडै निर्णय गर्नेछौं।’

सरकारले पनि अभ्यास खेल अनिश्चित कालसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले अर्को सूचना नआएसम्म अभ्यास खेल स्थगित गर्ने निर्णय भएको बताएका थिए।