कोरोनाले मन्त्री चौहानको मृत्यु



 

झापा– कोरोनाबाट संक्रमित भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेका छन् ।

चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो । उनलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो ।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन् ।

यसैगरी मुख्यमन्त्री योगीले चौहान जति चर्चित खेलाडी थिए, त्यति नै लोकप्रिय नेता थिए भनेका छन् । उनले चौहानको अन्त्येष्टि मंगलबार हुने जानकारी दिएका छन् । अनलाइनखबरबाट