शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. नवौँ वर्षमा प्रवेश



 

बिर्तामोड–शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. नवौँ वर्षमा प्रवेश गरेको छ । २०६९ भदौ २५ मा बचत तथा ऋण सहकारी संस्थाको रुपमा ‘शिक्षा’ डिभिजन सहकारी कार्यालय झापामा दर्ता भएको थियो । संस्थाले बिहीवार आठौँ वर्ष पूरा गरेको हो ।

२०७२ चैत ३० गते बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा रुपान्तरण भएपछि संस्थाले उद्येश्य अनुकुल आफ्नो दीर्घकालिन योजना कार्यान्वयनका लागि प्रयास गरिरहेको जनाएकोछ । संस्थाले बिर्तामोड–२ मा १० कठ्ठा जग्गा खरिद गरेको र सहकारी विद्यालय सञ्चालनको संस्थागत अवधारणा अनुसार प्रक्रिया अघि बढेको जनाएको हो ।

‘बिर्तामोड–१ मा मण्टेश्वरी अवधारणामा आधारित ‘शिक्षा शिकोप निकेतन’ सञ्चालनको तयारीमा रहेको छ । यी सबै कार्यमा सदस्यज्यूहरुको सहयोग आफैँमा प्रशंसनीय विषय हो । सबैप्रति हामी आभारी छौँ’, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने र सचिव दीपेश धौरालीद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

नवौँ वर्ष प्रवेशका अवसरमा संस्थाले आफ्ना सबै शेयर सदस्य, शुभचिन्तक र शुभेच्छुकप्रति हार्दिक आभार प्रकट गरेको छ । कोरोना भाइरसको संक्रमणका बीच अहिलेको विषमपरिस्थितिमा पनि सदस्यहरुले संस्थाको हित, प्रगति र उन्नतिका लागि खेलेको भूमिका अभूतपूर्व भएको जनाउँदै संस्थाले यस्तै आगामी दिनमा पनि सहयोग सद्भाव र सहकार्यको अपेक्षा राखिएको जनाएको छ ।

संस्था यो अवस्थासम्म आइपुग्न संस्थापक लगायत सबै सदस्यहरुको विश्वास, भरोसा र भूमिका महत्वपूर्ण रहेको संस्थाले जनाएको छ । संस्थाको श्रीबृद्धिका लागि कर्मचारी बर्गले खेलेको भूमिका झन् प्रशंसनीय छ ।

संस्था नवौँ वर्ष प्रवेशको अवसरमा कनकाई नगरपालिकामा कोरोना भाइरस परीक्षणका लागि जनस्तरबाट स्थापित ‘पीसीआर परीक्षण प्रयोगशाला’ का लागि झापा जिल्ला सहकारी संघमार्फत ५१ हजार रुपैयाँ सहयोग गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

बिर्तामोड–१ मा निर्माणाधीन अवस्थामा रहेको बहुजातिय सङ्ग्रहालयसहितको ‘झापा नाटक घर’ निर्माणका लागि अघिल्लो वर्ष घोषणा गरिएको ५१ हजार रुपैयाँ पनि संस्थाको आठौँ स्थापना दिवसको अवसरमा प्रदान गरिएको संस्थाका सचिव धौरालीले बताए ।

अहिले कोरोना संक्रमणको यो महामारी र त्यसबाट सिर्जित समस्याका कारण तोकिएको समयमा साधारणसभा गर्न असमर्थ रहेको जनाउँदै शिक्षा बहुउद्देश्यीयले सहकारी विभाग र सहकारी अभियानले तय गरेको विधि, प्रक्रिया र योजना अनुरुप साधारणसभा हुने सबैमा अवगत गराएको छ ।

 शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा पीसीआर प्रयोगशालाका लागि ५१ हजार सहयोग