सिम्रिक सहकारीद्वारा २ लाख २२ हजार राहत सहयोग



बिर्तामोड– सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड सेवा केन्द्रले ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको छ ।

संस्थाका विभागीय प्रमुख विजय बस्नेत र बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालको नेतृत्वमा २६ सयदेखि १५ हजार रुपैयाँसम्म उपचार सहयोग हस्तान्तरण गरिएको हो ।

सदस्यको, उसका श्रीमान् वा श्रीमतीको, बुवा वा आमाको, छोरा छोरीको उपचार गर्दा लागेको खर्च राहतस्वरुप प्रदान गर्ने संस्थाको सदस्य राहत नीति छ ।

सिम्रिकका शेयर सदस्यले गर्ने नियमित कारोबार, शेयर लगानी, आवधिक बचत आदिका आधारमा सदस्य राहत प्रदान गर्ने नीति रहेको तालिम विभाग प्रमुख बस्नेतले बताए ।

बिर्तामोड क्षेत्रका सदस्यलाई एक लाख चार हजार ९४८ रुपैयाँ उपचार राहत हस्तान्तरण गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख खनालले जानकारी दिए।

संस्थाले आइतबारदेखि शुक्रबारसम्म २ लाख २२ हजार ३३९ रुपैयाँ राहत तथा सुविधा प्रदान गरेको छ । गत साता मात्रै सिम्रिकले मेचीनगरको जोरसिमलका दीपक क्षेत्रीको निधनमा राहत सुविधावापत दुई लाख २८ हजार सात सय रुपैयाँ पनि प्रदान गरेको थियो ।