झापामा छोराद्वारा बञ्चरो हानेर आमाको हत्या



बिर्तामोड– झापाको कमल गाउँपालिका–७ मा अहिले साँझ एक जना महिलाको हत्या भएको छ । स्थानीय मीरा ऋषिदेवको हत्या भएको हो । उनलाई २१ वर्षीय छोरा दिनेशले बञ्चरोले काटेर मारेको स्थानीयले बताएका छन् ।

झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाका अनुसार दिनेशले आमालाई बञ्चरो र ढुङ्गाले टाउको र खुट्टामा प्रहार गरेका थिए । छोराको निर्मम प्रहारबाट मीराको घटनास्थलमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका डीएसपी बिजय पण्डितले मादकपदार्थ सेवन गरेर दिनेशले आमाको हत्या गरेको बताए । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गरेका हुन् ।

नशाको सुरमा उनले आमामाथि हतियार प्रहार गरेको स्थानीयले बताएका छन् । तत्काल स्थानीयले घटनावारे प्रहरीमा खबर गरेका थिए । घटनापछि प्रहरीले दिनेशलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाही प्रक्रिया अघि बढाएको छ ।