उद्योग वाणिज्य महासंघको निर्वाचन अनिश्चित



 

झापा–नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अनिश्चित भएको छ। चैतमा हुनुपर्ने निर्वाचन कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अनिश्चित भएको हो ।

सरकारले आवतजावत खुला गरे पनि कोरोनाको जोखिम घट्नुको साटो बढ्दै गएको छ । बढ्दो जोखिमसँगै महासंघको निर्वाचन अनिश्चित बन्दै गएको हो।

सरकारले सभा, सम्मेलन, पार्टी र भोज गर्न बन्देज गरेपछि साउन २६ र २७ मा तय भएको निर्वाचन अनिश्चितकालका लागि रोकिएको छ।

निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा महासंघले निर्णय लिन सकिरहेको छैन । जोखिम आँकलन गर्न मुस्किल भएकाले तत्काल निर्णय लिन नसकिएको महासङ्घका पदाधिकारी बताउँछन् ।

महासंघको ५४औं वार्षिक साधारण सभा र निर्वाचनको कार्य सञ्चालन गर्न महासंघले एक उपसमिति गठन गरेको थियो। समितिले ढाँचा तथा प्रक्रिया तयार गरी केही दिनअघि महासंघका अध्यक्ष भवानी राणालाई प्रतिवेदन पेस गरिसकेको छ।