ओम्नी समूह अब कालोसूचीमा



 

झापा–ओबीसीआई प्रालि ओम्नी एक वर्षका लागि कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले भदौ २८ देखि लागू हुनेगरी ओम्नीलाई कालोसूचीमा राखेको हो।

सम्झौता अनुसार स्वास्थ्य सामग्री खरिद गर्न नसकेपछि ओम्नी समूहको चौतर्फी आलोचना हुँदै आएको छ । कालोसूचीमा परेको यो कम्पनीले अब एक वर्ष सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन नपाउने भएको छ ।

ललितपुर कृष्णगल्ली कार्यालय भएको र तुलहरी सिंह प्रमुख व्यक्ति रहेको ओबीसीआई प्रालिलाई स्वास्थ्य सेवा विभागको सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागले गत चैतमा ठेक्का सम्झौता रद्द गरी ओम्नीलाई कारबाही गर्ने निर्णय गरेको थियो। विभागले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई यो कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।