जग्गा जमिनको कित्ता काट रोक्न सर्वोच्चको आदेश



 

 

झापा– जग्गा जमिनको कित्ताकाट गर्ने गरी गरिएको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले आगामी असोज ८ गतेसम्म जग्गा जमिन कित्ताकाट गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता सन्तोष भण्डारी लगायतले दायर गरेको रिट निवेदनमा अधिवक्ताहरु मनिषकुमार श्रेष्ठ, रामेश्वरप्रसाद कोइराला, किर्तिनाथ शर्मा पौडेल लगायतले बहस गरेका थिए ।

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो ।

तर भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले २०७४ साउन २६ गतेको उक्त निर्णय बदर गर्दै कित्ताकाट फकुवा गरेको थियो ।