झापाको धुलावारीमा खुल्यो राष्ट्रिय सहकारी बैङ्कको शाखा



 

मेचीनगर– राष्ट्रिय सहकारी बैङ्कले झापाको धुलावारीमा शाखा स्थापना गरेको छ । बैङ्कको ५८ औँ शाखा धुलावारी मोडमा खुलेको हो । शाखाको आज मेचीनगरका प्रमुख विमल आचार्यले उद्घाटन गरेका छन् ।

सदस्य सहकारी संस्थाहरुको वित्तिय आवश्यकता पूरा गर्ने गरी धुलावारीमा खुलेको यो शाखा झापामा तेस्रो हो । यसअघि झापामा पहिलो शाखा बिर्तामोडमा र दोस्रो शाखा दमकमा खुलेको थियो ।

दमक र बिर्तामोडमा खोलिएका बैङ्कका शाखामार्फत क्रमश १८० र २७३ वटा सहकारी संस्थाले वित्तिय कारोवार गर्दै आइरहेका छन् । सहकारी संस्थाको अभिभावकीय संस्थाका रुपमा राष्ट्रिय सहकारी बैङ्कले सदस्य संस्थालाई वित्तिय सेवा दिइरहेको बैङ्कका अध्यक्ष केवी उप्रेतीले बताए ।

‘सदस्य संस्थाले चाहेको सेवा दिन बैङ्क सधैँ तयार छ’, धुलावारी शाखा उद्घाटनका क्रममा अध्यक्ष उप्रेतीले भने, ‘यो शाखा टिकाउने नटिकाउने तपाईहरुको जिम्मामा छ ।’ उनले सहारा र एनएमसीको नामै लिएर धुलावारी शाखालाई नाफामा लैजाने दायित्व पूरा गर्न अनुरोध गरे ।

बैङ्कमा नेपालमा उदाहारणीय मानिएका सहारा र एनएमसीको प्रतिनिधित्व छ । सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी बैङ्कका सञ्चालक सदस्य छन् । एनएमसीका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेती बैङ्कका लेखा समिति संयोजक हुन् ।

‘झापामा खुलेका सबै शाखालाई चलायमान बनाइराख्ने जिम्मेवारी तपाईहरुको पनि हो’ अध्यक्ष उप्रेतीले भने, ‘साँच्चै भन्ने हो भने यो तपाईहरुको प्रतिष्ठाको विषय पनि हो ।’ पूर्वबाट अमृता सुब्बा पनि बैङ्कको सञ्चालक सदस्य छिन् । अध्यक्ष उप्रेतीले तीनै जनाको प्रयासले झापामा खोलिएका शाखा थप सशक्त हुने विश्वास व्यक्त गरे ।

स्थानीय तहमार्फत सीप तथा क्षमताको विकास गर्दै गरिवी निवारणमा बैङ्कले सहयोग गर्ने अध्यक्ष उप्रेतीले बताए । कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बैङ्कसँग सहकार्य गर्न मेचीनगर तयार रहेको बताउँदै सहकारीको प्रवद्र्धन गर्ने सन्दर्भमा नीतिहरु बनाइएको बताइन् ।

नेपस्कुनका सञ्चालक घनश्याम अधिकारीले झापाका सबै सहकारीले राष्ट्रिय सहकारी बैङ्कमार्फत वित्तिय कारोवार गर्नु पर्ने बताउँदै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सके रोजगारीका अवसरहरु पनि सिर्जना हुने बताए ।

शाखा उद्घाटन समारोहमा बैङ्कका कार्यकारी अधिकृत बद्री गुरागाई, सञ्चालक विजया धिताल लगायतको पनि सहभागिता रहेको थियो । बैङ्कले धुलावारी शाखा प्रमुखका रुपमा मुना घिमिरेलाई जिम्मेवारी दिएको छ । घिमिरे यसअघि बैङ्कको बिर्तामोड शाखा प्रमुख थिइन् ।