लायन्स क्लब अफ सुरुङ्गाद्वारा झापा गाउँपालिकाको सन्थाल वस्तीमा सिरक वितरण



 

झापा बजार– आदिवासी सन्थाल समुदायको बस्ती रहेको झापा गाउँपालिका–१ मिलनबस्तीमा शुक्रवार न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ सुरुङ्गाको अग्रसरतामा विपन्न समुदायका ८२ घर परिवारलाई सिरक वितरण गरिएको हो ।

सानो माइ र ठूलो माइको बीचमा रहेको मिलन बस्ती बर्सेनि बाढीको चपेटामा पर्छ । बाढीबाट वर्सेनि विस्थापित हुँदै आएका सन्थाल समुदाय आर्थिक विपन्न्ताका कारण सधैँ समस्यामा छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लायन्स क्लव र सहारा नेपालको सहयोगमा सिरक वितरण गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको प्रमुख आतिथ्यतामा सन्थाल समुदायका नागरिकलाई सिरक वितरण गरिएको हो । यस वर्षको बाढीले घरका सबै सामान बगाएपछि त्यहाँका सन्थाल समुदाय जाडोको बेला न्यानो कपडाविहीन छन् ।

मानवीय सहायताका लागि लायन्सले सन्थाल बस्तीलाई रोजेर सिरक वितरण गरेको लायन्स क्लब अफ सुरुङ्गाका अध्यक्ष मनोज बस्नेतले बताए । सिरक वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जयनारायण साह लगायतको सहभागिता रहेको थियो ।