निजी क्षेत्रद्वारा झापामा किसानलाई परिचय पत्र वितरण



 

केशव चापागाईं
झापा बजार– झापा गाउँपालिका–३ मा रहेको एग्री सेन्टर झापा प्रालिले झापामा नमुनाका रुपमा किसान परिचयपत्र वितरण गर्न थालेको छ। सेन्टरले बिहीवारदेखि परिचयपत्र वितरणको काम थालेको हो ।

आर्थिक सामाजिक विकासका लागि किसानको परिचय पहिलो आधार हो भन्ने मान्यता राखेर परिचयपत्र वितरण गर्न थालिएको एग्री सेन्टर प्रालिका सञ्चालक चन्द्रप्रसाद बस्नेतले बताए ।

‘परिचयपत्र पाएका किसान ‘किसान क्रेडिट कार्ड’ प्राप्त गर्न योग्य हुन्छन्’, उनले भने । कम्पनीले कृषक परिचयपत्र पाएका किसानलाई कम्पनीबाट मल, बीउविजन, विषादी तथा कृषि औजार खरिदमा समेत छुट दिने व्यवस्था गरेको छ ।

‘किसानद्वारा उत्पादित बस्तुको वजारीकरणमा समन्वय, अनुदानका कार्यक्रममा कम्पनीका तर्फबाट पहल, कृषि यान्त्रीकरणका लागि गाउँपालिकासँग पहल गर्ने लगायतका काममा पनि हाम्रो सहयोग रहनेछ’, बस्नेतले भने ।

जग्गा धनीपुर्जा प्रमाणपत्र भएका, नेपाली नागरिक, कृषिमा आत्मनिर्भर भएका, फौजदारी अभियोग नलागेका, कृषिमा आधुनिकीकरण चाहने मेहनती परिश्रमी किसानले परिचयपत्र पाउँछन् ।

परिचयपत्र पाएकोमा झापा गाउँपालिका–३ का महेश उराँवले खुसी व्यक्त गरे । कृषि ज्ञान केन्द्रकी विषादी निरिक्षक एजिना खडकाले किसान परिचयपत्र वर्गीकरणबाट गर्नुपर्ने बताइन् ।