एमालेमा माधव नेपाल समूहद्वारा समानान्तर कमिटी गठनलाई तीव्रता



मोरङ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुमाथि श्रृंखलाबद्ध रुपमा कारबाही प्रक्रिया अघि बढाएपछि माधव नेपाल समूहलेे समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ ।

एमाले अध्यक्ष ओलीले विधि प्रक्रिया र पद्धतिलाई पटकपटक उल्लंघन गरेको आरोपका बीच माधव नेपाल समूहले जिल्ला तहमा समानान्तर कमिटीमार्फत पार्टी गतिविधिलाई तीव्रता दिएको हो । उसले जिल्ला र नगर तहमा नगर कमिटी गठन गर्ने कार्य सुरु गरेको छ ।

शुक्रबार मोरङमा मात्रै दुईवटा समानान्तर कमिटी गठन भएका छन् । एमाले नेता घनेन्द्र बस्नेतका अनुसार मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटी गठन गरिएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल आफैँ उपस्थित भएर ती कमिटी गठन गरेको नेता बस्नेतले जानकारी दिए ।

मोरङमा चन्द्रबीर राईको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी गठन भएको हो । महानगरमा भने पारुल क्षेत्रीको अध्यक्षतामा १७५ सदस्यीय कमिटी गठन भएको छ । समानान्तर अभ्यास गर्दै ती जिल्ला कमिटीले पार्टी गतिविधिलाई निरन्तरता दिने नेता बस्नेतले जानकारी दिए ।