कोरोनाको दोस्रो लहर : विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस



झापा– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दोस्रो संक्रमण देखिएको भन्दै विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । कोरोनाको संक्रमण भयावह बन्नसक्ने जोखिम रहेको भन्दै मन्त्रालयले कोरोना संक्रमण व्यवस्थापन समितिलाई विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर अधिकारीले विद्यालय तहमा संक्रमण बढ्दै गएकाले जोखिम व्यवस्थापनका लागि बन्दको सिफारिस गर्नुपरेको बताए । कोरोना संक्रमण फैलिने ठाउँ विद्यालय देखिएकाले अनलाइनमार्फत पढाइ सुरुगर्न मन्त्रालयले सरोकारवालाहरुलाई आग्रह पनि गरेको छ ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्न विद्यालय तथा कलेज बन्द गर्नुको विकल्प नरहेकाले यसमा गम्भीर हुन अनुरोध गर्दै आएका छन् । हालसम्म कुल संक्रमितमध्ये सात प्रतिशत बालबालिकामा कोरोनाको संक्रमण देखिएको छ ।