बाल सुबोधिनी माविका विद्यार्थीले फलाए रहरलाग्दा अर्ग्यानिक काेपी



मेचीनगर– पढाइसँगै प्रयोगात्मक अभ्यासमा जुटेका झापाको मेचीनगरस्थित बाल सुबोधिनी माविका विद्यार्थीले विद्यालय परिसरमा लोभलाग्दा कोपी फलाएका छन् ।

व्यवहारिक अभ्यासमा सक्रिय भएका कक्षा-८ का विद्यार्थीले आफ्नै श्रम र सीप खर्चिएर काेपी फलाएका हुन् । काेपी रोप्नेदेखि पानी हाल्ने र गोडमेल गर्ने कार्यमा पनि उनीहरुले आफ्नो मेहनत खर्चिएका छन् ।

पेसा व्यवसाय विषयको प्रयोगात्मक अभ्यास अन्तर्गत उनीहरुले अर्ग्यानिक कोपी फलाएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले जानकारी दिए । शिक्षण सिकाइमा व्यवहारिक अभ्यास अनिवार्य हुने भएकाले विद्यार्थीलाई त्यसतर्फ उत्प्रेरित गरिएको हो ।

पढाइसँगै व्यवहारिक अभ्यास पनि गराउन जरुरी रहेकाले विद्यालयले निरन्तर तरकारी खेतीमा विद्यार्थीलाई सक्रिय गराउँदै आएको छ । विद्यार्थीले पढाइसँगै आफ्नो पौरख पनि देखाउँदै आएका छन् ।