माधव नेपाल समूहद्वारा झापामा पनि समानान्तर कमिटी घोषणाको तयारी



बिर्तामोड– नेकपा एमालेको माधव पक्षीय समूहले झापामा पनि पार्टीभित्र समानान्तर अभ्यास गर्ने गरी जिल्ला कमिटी बनाउने तयारी गरेको छ । पार्टी भित्रको विवाद सतहमा आएपछि माधव नेपाल समूहले पार्टी र जनवर्गीय संगठनमा समानान्तर अभ्यास थालेको हो ।

कतिपय जिल्लामा यसअघि समानान्तर कमिटी गठन भइसकेका छन् । हिजो मात्रै मोरङमा वरिष्ठ नेता माधव नेपाल आफैँ उपस्थित भएर जिल्ला र महानगर कमिटी गठन गरेका छन् । वैशाख ३ गते घोषणा गर्ने गरी नेपाल समूहले झापामा पनि समानान्तर कमिटी गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा वरिष्ठ नेता नेपाल आफैँ आएर समानान्तर कमिटी घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । समानान्तर कमिटी घोषणा सभामा नेपालबाहेक पूर्वमन्त्री घनश्याम भुसाल समेत सहभागी हुने पार्टीका प्रदेश कमिटी सदस्य राेमणि भट्टराईले जानकारी दिएका छन् ।

जिल्ला कमिटीसँगै जनवर्गीय संगठनका समानान्तर कमिटी पनि घोषणा गर्ने कार्यक्रम रहेको नेता भट्टराईले बताए ।