तत्काल कांग्रेस नेतृत्वमा सरकार बन्दैन- राणा



बिर्तामोड– नेपाल तरुण दलका पूर्व अध्यक्ष उदय समशेर राणाले तत्काल कांग्रेसको नेतृत्वमा सरकार नबन्ने बताएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल तरुण दल दुई नम्बर क्षेत्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै राणाले उक्त कुरा बताएका हुन् ।

पूर्व अर्थ राज्यमन्त्री समेत रहेका राणाले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन नगरेसम्म कांग्रेसको नेतृत्वमा नयाँ सरकार नबन्ने बताए । क्षेत्रीय सभापति राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन जिल्ला सचिव अनिल ढुङ्गानाले गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा उल्लेख्य संख्यामा तरुणहरुले रक्तदान गरेका छन् ।