वीएण्डसी हस्पिटलद्वारा एकसय विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा



बिर्तामोड– झापा बिर्तामोडको वीएण्डसी हस्पिटलले झापाका विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । अस्पताल प्रशासनले आज पत्रकार सम्मेलन गरी विपन्न समुदायका नागरिकको स्वास्थ्य बीमा गर्ने घोषणा गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले झापाका लोपोन्मुख र विपन्न समुदायका नागरिक अझै पनि स्वास्थ्य सेवाबाट बञ्चित भइरहेको पाइएकाले उनीहरुका लागि स्वास्थ्य बीमा गर्ने बताए ।

‘सरकारले लागु गरेको बीमा कार्यक्रममा विपन्न नागरिकको पहुँच नदेखिएपछि उनीहरूको सुविधाका लागि बीमा गर्न लागेका छौ’ पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक प्रसाईले भने, ‘स्वास्थ्य उपचारमा उनीहरूको पहुँच स्थापित हुनेछ भन्ने हाम्रो विश्वास हो ।’

कार्यकारी निर्देशक प्रसाईले अस्पतालका तर्फबाट सयौं विपन्न नागरिकको स्वास्थ्य बीमा गर्ने तयारी रहेको जनाउँदै पहिलो चरणमा झापाका एकसय विपन्न परिवारको बीमा गर्ने जानकारी दिए । उनले सञ्चारकर्मी मार्फत सिफारिस भइआएका विपन्न नागरिकलाई मात्रै बीमा सुविधा उपलब्ध गराउने योजना रहेको सुनाए ।

अस्पतालका जनसम्पर्क अधिकृत प्राेमिश गिरी सरकारको कार्यक्रमलाई सघाउने गरी अस्पतालले विपन्न नागरिकको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको बताउँछन् । उनले अस्पतालका तर्फबाट स्वास्थ्य बीमाबापत प्रतिपरिवार ३५ सयका दरले सरकारलाई रकम बुझाई दिने बताए ।

पहिलो चरणमा सय बिपन्न परिवारको स्वास्थ्य बीमा गरेपछि दोस्रो चरणमा पनि कार्यक्रमलाई निरन्तता दिने जन-सम्पर्क गिरीले बताए । सञ्चारकर्मीमार्फत सिफारिस भएका विपन्न नागरिकको पहिचानका लागि घर घरमै दर्ता सहयोगी पठाउने अस्पतालको तयारी छ ।