राष्ट्रपति रनिङ शिल्डकाे जिल्लास्तरीय छनोटको तयारी अन्तिम चरणमा



बिर्तामोड– झापामा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्लास्तरीय छनोटको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख ३,४ र ५ गते भद्रपुरस्थित मेची रंगशालामा हुने छनौट खेलको तयारी सकिएको हाे ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट छानिएर आएका खेलाडीले छनोट प्रतियोगितामा भाग लिन पाउने बताए।

राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ विधाका प्रतिस्पर्धाबाट ७६ जना खेलाडी छनोट हुनेछन् । ६ वटै विधामा छात्र र छात्राको अलगअलग सहभागिता र प्रतिस्पर्धा रहनेछ ।

छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोटमा भाग लिन पाउने मैनाली जानकारी दिए । प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा १३ इभेन्टस्, कराते, तेक्वान्दो र उसुमा चारचार इभेन्टस् हुनेछन् । जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीले बैशाख १० र ११ गते प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने छन् ।

प्रदेशमा छानिएको खेलाडीले बैशाख २९ गतेबाट हुने राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्नेछ । झापामा जिल्लास्तरीय छनोटमा खेलाडी, प्रशिक्षक र अफिसियल गरेर झन्डै एक हजार पाँच सयजना सहभागी रहने छन् ।

प्राविधिक, निर्णायक र रेफ्री मात्र १५० जना हुने समितिले जनाएको छ ।झापामा एथ्लेटिक्सबाट ११÷११ जना छात्रछात्रा, कबड्डी र भलिबलबाट ९÷९ जना छात्रछात्रा तथा कराते, तेक्वान्दो र उसुबाट ३÷३ जना छात्रछात्रा गरी ७६ जना खेलाडी छनोट हुने मैनालीले बताए ।

प्रत्येक खेलबाट एकएक जना गरी ६ जना प्रशिक्षक र एकजना टोली नेताले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् ।