झापामा एमालेको समानान्तर जिल्ला कमिटी घोषणा हुँदै



बिर्तामोड– नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी विस्तारलाई तीव्रता दिएको छ । आफूनिकटका नेता कार्यकर्तालाई संगठित गर्दै माधव नेपाल समूहले नगर र जिल्ला तहमा समानान्तर अभ्यास थालेको हो ।

एमालेभित्र चर्किएको अन्तर संघर्षको परिणामस्वरूप माधव नेपाल समूहले जिल्ला र नगरका तहमा समानान्तर कमिटी गठन गर्दै आएको छ । आज झापामा पनि एमालेको समानान्तर जिल्ला कमिटी घोषणाको कार्यक्रम तय भएको छ ।

जिल्ला कमिटी घोषणा कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल आफैँ सहभागी हुने भएका छन् । कार्यक्रममा सहभागिता जनाउन उनी हिजो नै झापा आएका छन् ।

आज दिउँसो विर्तामोडको सिटी सेन्टरमा आयोजित कार्यक्रमका बीच एमालेको जिल्ला कमिटी घोषणा गर्ने तयारी छ । कार्यक्रममा नेता घनश्याम भुसाल पनि सहभागी हुनेछन्।