‘असहमति राख्ने नेता कार्यकर्तालाई पत्तासाफ गर्ने ओली रणनीति’



बिर्तामोड– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र असहमति राख्ने नेता कार्यकर्तालाई ‘पत्तासाफ’ गर्ने पूर्व नियोजित उद्देश्यमा पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढेको बताएका छन् । उनले प्रशंसा नगर्ने नेता वा कार्यकर्तालाई सडकमा पुर्याउने ‘ओली रणनीति’ रहेको पनि बताए ।

झापाको बिर्तामोडमा आज आफूनिकट कार्यकर्ताको जिल्लास्तरीय भेलालाई सम्वोधन गर्दै नेता नेपालले पार्टी एकता बचाउन सबै किसिमको जोखिम मोल्न आफू तयार रहेको बताउँदै भने, ‘पार्टीभित्र असहमति राख्ने नेता कार्यकर्तालाई पत्तासाफ गर्ने नीतिमा ओली सफल हुन सक्दैनन् ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले व्यक्तिगत असमझदारी नभए पनि ओलीले गर्ने झुटको खेतीबाट आफू आजित भएको र त्यसबाट पाठ सिकेको बताए । ‘अध्यक्ष ओलीको व्यक्तिवादी सोच र आत्मकेन्द्रीत प्रवृत्ति विरुद्धको लडाई जारी रहन्छ’, नेता नेपालले भने, ‘ओली गल्ती कमजोरी सच्याउन तयार भए मात्रै पार्टी एक ढिक्का हुन्छ ।’

नेता नेपालले आफूहरुको आन्दोलन पार्टीको विधि, प्रक्रिया र पद्धतिसँग जोडिएको बताउँदै पार्टी हितविपरीत कसैसँग सहमति नहुने बताए । एमालेको पुरानै संरचना अनुसार पार्टी सञ्चालन हुनुपर्ने बताउँदै नेता नेपालले त्यसविपरीत अध्यक्ष ओलीले चालेका कदमलाई स्वीकार गर्न नसकिने दोहोर्याए ।

कम्युनिष्ट आन्दोलन बचाउन आफू पछाडि नहट्ने बताउँदै नेता नेपालले देशका सबै जिल्लामा पार्टी र जनवर्गीय संगठनका कमिटीहरु बनाइँदै लैजाने बताए ।

कार्यक्रममा बोल्दै एमाले नेता घनश्याम भुसालले केपी ओलीले कम्युनिष्ट आन्दोलनमाथि गद्दारी गरेको आरोप लगाए । ओली जस्तो सन्तान अब कुनै पनि नेपाली आमाले जन्माउनु नहुने बताउँदै भुसालले भने, ‘ओली जस्तो चरम व्यक्तिवादी मानिस कुनै नेपाली आमाको कोखबाट जन्मनु हुँदैन ।’