झापाका अग्रज पत्रकार चन्द्र भण्डारीलाई उत्कृष्ट नागरिक सम्मान’



बिर्तामोड – अग्रज पत्रकार एवम् सामाजिक अभियन्ता चन्द्र्र्र भण्डारीलाई ‘उत्कृष्ट नागरिक सम्मान’ प्रदान गरिएको छ । वीरता जेसीजले हरेक वर्ष एक जना झापाली समाजसेवीलाई यो सम्मान दिदैैं आएको छ ।

यसपटक पत्रकारिता विधामा सम्मान दिइएको जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीले बताए । कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनका अथक योद्धा हुन् ।

उनले पञ्चायती शासनको विरोध र लोकतन्त्र स्थापनको माग गर्दा १० वर्ष जेल बिताउनु परेको थियो । अनेरास्ववियूका केन्द्रीय अध्यक्ष, मेचीनगर नगरपालिकाको प्रथम जननिर्वाचित उपप्रमुख लगायतका अनेकौं जिम्मेवारी सम्हालिसकेका उनी पछिल्ला दिनमा सम्पूर्ण रुपमा रेडियो पत्रकारिताको आभियानमा होमिएका छन् ।

साहित्य, संगीत र वातावरण संरक्षणमा विशेष रुचि भएका उनका कयौं जनवादी गीत लोकप्रिय छन् भने कञ्चनजंघा एफएमबाट प्रशारित हुने काराबासका सन्देश, अन्तरवार्तामूलक समय सन्दर्भ, सीमाना पारि, कोरोना विशेष जस्ता कार्यक्रम अति नै चर्चित छन् ।

विषादी न्यूनीकरण र अग्र्यानिक आन्दोलनमा अग्रमोर्चामा लागेका भण्डारीले पत्रकारिताको माध्यमबाट लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि पुर्याएको योगदानको कदर गर्दै झापाको उत्कृष्ट नागरिक सम्मान समर्पण गरिएको सम्मान छनौट समितिका संयोजक एवम् अनारमनी पब्लिक क्याम्पसका प्राचार्य मोहन शिवाकोटीले बताए ।

शनिवार विर्तामोडको अतिथि सदनमा आयोजित विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले भण्डारीलाई सम्मान पत्र प्रदान गरे । लोडसेडिङ अन्त्य गरेर नागरिकमाझ लोकप्रिय भएका घिसिङलाई सम्मान वितरण कार्यक्रमको प्रमुख अतिथि बनाइएको थियो ।

पत्रकारिताका अग्रज व्यक्तित्व भण्डारीलाई आफ्ना हातबाट सम्मान प्रदान गर्न पाउँदा आफु गौरवान्वित बनेको प्रमुख अतिथि घिसिङले मन्तब्य क्रममा बताए । कार्यक्रममा सम्मानित प्रतिभा भण्डारीले आफुले पाएको सम्मानबाट जिम्मेवारी बढेको बताउँदै देश र जनताको हितमा अझ क्रियाशील भएर आगामी दिनमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

वीरता जेसिजका पूर्व अध्यक्ष याम खड्काको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विशेष अतिथि वरिष्ठ पत्रकार रामरिझन यादव थिए । कार्यक्रममा पत्रकार चन्द्र भण्डारीको पत्नी एवम् साहित्यकार लीना भण्डारीलाई समेत सम्मानित गरिएको थियो ।