कोरोना संक्रमणको जोखिम: बिर्तामोड, मेचीनगर र दमकका विद्यालय बन्द हुँदै



बिर्तामोड– कोरोना भाइरसको दोस्रो लहरको संक्रमण र यसबाट उत्पन्न परिस्थितिपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयपछि देशभरका हजारौँ विद्यालय बन्द हुने भएका छन् ।

सरकारले वैशाख महिनाभर सहरी क्षेत्रमा सञ्चालित सबै प्रकारका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सरकारले झापामा बिर्तामोड, मेचीनगर र दमकमा सञ्चालित विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णयपछि झापाका तीन स्थानीय तहका विद्यालय बन्द गर्न थालिएको छ । कतिपय निजी विद्यालय भने सञ्चालनमा छन् । संक्रमणको जोखिम हेरेर विद्यालयहरु क्रमश बन्द भइरहेका छन् ।

कोरोनाको संक्रमणको जोखिम बढ्दै गएकाले सरकार विद्यालय बन्द गर्ने निष्कर्षमा पुगेको हो । सरकारले भिडभाड हुने सार्वजनिकस्थलका सबै कार्यक्रम बन्द गर्न पनि सरोकारवाला सबैलाई निर्देशन दिएको छ ।