बिर्तामोडका विद्यालयमा बैशाख २० देखि वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय



बिर्तामोड– झापाको बिर्तामोडका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १९ गते सम्मका लागि बन्द भएका छन् । सरोकारवालाहरूको आज बिर्तामोड नगरपालिकामा बसेको बैठकले बैशाख १९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद्को बैठकले झापाको मेचीनगर, बिर्तामोड र दमक नगर क्षेत्रका सहरकेन्द्रित विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि आज बसेको सरोकारवालाको बैठकले वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको हो ।

बैठकले वैशाख २० गतेदेखि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बिर्तामोड नगरका शिक्षा अधिकृत केशरबहादुर खवासले बताए । उनले विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन हुने जानकारी दिए ।

कोरोना भाइरसको दोस्रो लहरकाे संक्रमण र यसबाट उत्पन्न परिस्थितिपछि सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएपछि वार्षिक परीक्षाको मुखमा अभिभावक र विद्यार्थी थप चिन्तित देखिएका छन् ।

यसअघि सरकारले जेठ पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको थियो । त्यस अगावै संक्रमणको जोखिम बढेपछि सरकारले वैशाख महिनाभर विद्यालय बन्द गर्न निर्देशन दिएको छ।