प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु



झापा– प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ । नेकपा एमाले विभाजनको संघारमा पुगेका बेला केहीबेरअघि काठमाडौंको होटल मेरियटमा दुई नेताबीच वार्ता सुरु भएको हो ।

वार्तामा एमाले नेता विष्णु पौडेल पनि सहभागी छन् । यसअघि आजमात्रै एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीसँग भेटेर उदारतापूर्वक एमालेको एकता जोगाउन आग्रह गरेका थिए ।

यसअघि हिजो नेपालसहित उनी निकटका २७ जना सांसदलाई पदबाट किन नहटाउने भनी अध्यक्ष ओलीले स्पष्टीकरण सोधेपछि एमाले विभाजन अन्तिमतिर पुगेको धेरैको अनुमान छ ।

भट्टराईसँगको भेटपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग संवाद गर्न चाहेका हुन् । दुई नेता बीचको भेटले लामो समयदेखिको संवादहीनता तोडिएको छ । दुई नेताबीचको वार्ता एमाले एकता जोगाउन निर्णायक हुने अनुमान गरिएको छ ।

तस्बिर स्राेत : रिपब्लिका