अध्ययनका लागि पाँचवटा देशमा जान विद्यार्थीलाई प्रतिबन्ध



झापा– सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र तत्काल नदिने भएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछि जोखिम बढ्न सक्ने जनाउँदै सरकारले स्वीकृति पत्र स्थगित गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बगंलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र स्थगित गरिएको जनाएको छ ।

मन्त्रालयका उप–सचिव नारायणप्रसाद पोखरेलले विश्वभर काेराेना संक्रमण बढ्दै गएकाले जोखिमपूर्ण अवस्थालाई ध्यानमा राखेर वैदेशिक अध्ययन स्वीकृतिपत्र नदिने निर्णय भएको बताए ।

मन्त्रालयले वैशाख ९ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नहुँदासम्म वैदेशिक अध्ययन स्वीकृति पत्र उपलब्ध गराउन नसकिने जनाएको छ । सरकारले स्वीकृति पत्र रोकेपछि वैदेशिक अध्ययनमा जाने विद्यार्थी प्रभावित भएका छन् ।