कोराेना संक्रमणका कारण झापामा एक जनाको मृत्यु, सय नाघे संक्रमित



बिर्तामोड– झापामा कोरोना भाइरसको संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ । झापाको भद्रपुरका ३८ वर्षीय पुरुषले उपचारका क्रममा ज्यान गुमाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतवर्ष कोरोना संक्रमण शुरु भएयता झापामा १३० जनाको मृत्यु भइसकेको छ । दोस्रो लहरको संक्रमणपछि झापामा दुई जनाले ज्यान गुमाएका छन् ।

दोस्रो चरणको संक्रमण सुरु भएपछि झापामा संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयका कोरोना फाेकल पर्सन जीवन चौलागाईंले बताए।

आज साँझसम्म झापामा सक्रिय संक्रमितको संख्या १०१ पुगेको छ । बिहीवार मात्रै १६ जना संक्रमित थपिएका हुन् ।