आचार्यको सत्ता यात्रा : ‘चोक्टा खान गएकी बुढी झोलमा डुवेर मरी’ भने जस्तै



झापा– एमाले नेता भीम आचार्य मुख्यमन्त्रीको पद खुस्किने निश्चित प्राय भएपछि निराश भएका छन् । एमालेबाट प्रदेशसभामा निर्वाचित १० जना सांसदले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री आचार्यको सत्ता यात्रामा तत्काल पूर्णविराम लाग्ने देखिएको हो ।

मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको एकसाता बित्न नपाउँदै पदीय अस्तित्व धरापमा परेपछि आचार्यमा निराशा बढेको छ । यसअघि लामोसमय नेता नेपाललाई साथ दिएका आचार्य मुख्यमन्त्री पाउने भएपछि एमाले एकताका नाममा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका थिए ।

तत्कालीन मुख्यमन्त्री शेरधन राई राजीनामा दिएर आचार्यको मुख्यमन्त्री बन्ने यसअघिको पटक–पटकको चाहना पूरा गर्न तयार भएपछि नेता आचार्यको ‘मुर्छित सपना’ वास्तविकतामा परिणत भएको थियो । राजनीतिक जोडघटाउ र प्राप्तिमा मात्रै ध्यानदिने पुरानो प्रवृत्तिले आचार्यको पद धरापमा परेको नेकपा समाजवादीका सांसद बताउँछन् ।

तीन पटकको अथक प्रयासमा मुख्यमन्त्री भएका एमाले सचिव आचार्य प्रदेश १ को राजनीतिक वृत्तमा कुनै चमत्कार वा नयाँ राजनीतिक समीकरण विकसित नभए यसैसाता पदमुक्त हुनेछन् । प्रदेश १ का १० सांसदले बुधबार एकीकृत समाजवादी पार्टी रोज्दै निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेपछि एमाले नेतृत्वको एकल बहुमतीय सरकार अल्पमतमा परेको हो ।

ओली पक्षमा लागेर मुख्यमन्त्री भएका आचार्यको सत्ता यात्रा ‘चोक्टा खान गएकी बुढी झोलमा डुवेर मरी’ भने जस्तै भएको समाजवादीका सांसदको टिप्पणी छ । प्रदेश १ सभामा कुल ९३ सांसद रहेकोमा अहिले ९२ सदस्य कायम छन् । एमालेकी सांसद गुलेफन खातुन फौजदारी अभियोगमा अदालतले कैद सुनाएकाले फरार छिन् ।

एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरु राजेन्द्र राई, सावित्रा रेग्मी, उपेन्द्र घिमिरे, राजन राई, कृष्णकुमारी राई, खिनुलङ्वा लिम्बू, गणेश काङ्बाङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा समाजवादी पार्टीमा खुलेका छन् । प्रदेशसभाको निर्वाचनलगत्तै एमाले संसदीयको दलको नेतामा आचार्यले निवर्तमान मुख्यमन्त्री राईसँग दुई मतले हार व्यहोर्नु परेको थियो ।

राईसँग पराजित भएपछि आचार्य मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए । तत्कालीन नेकपामा चुलिएको विवादपछि तत्कालीन मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्री बन्ने आचार्यको दोस्रो प्रयास पनि विफल भएको थियो । प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा पनि ४७ सांसद आवश्यक पर्छ ।

एमाले एक हुँदा ५१ जना सांसद थिए । बुधबार एकीकृत समाजवादीमा एमालेका ५१ मध्ये १० सांसद सामेल भएका छन् । सरकारको नेतृत्व गरेको दल विभाजन भएमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

विद्यमान सत्ता समीकरणलाई हेर्ने हो भने एमालेलाई बहुमतको अंकगणित जुटाउन कठिन छ । प्रदेशसभामा अब एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन र अन्य दुई साना दलका एक–एकजना सांसद छन ।