प्रदेश १ र ३ मा एमाले सरकार ढल्दै




झापा–नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश १ र ३ मा एकसाताभित्र आफ्नो नेतृत्वमा सरकार बनाउने भएको छ । सत्ता समीकरण फेरिएपछि प्रदेशमा एमाले सरकार कमजोर भइरहेका बेला समाजवादीले यस्तो बताएको हो । आफ्नै वा गठबन्धन दलको नेतृत्वमा सरकार बनाउन समाजवादीले एमाले नेतृत्वको सरकार विस्थापित गर्ने योजना अघि सारेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र एक नम्बर र वाग्मती प्रदेशका मुख्यमन्त्री हटाउने बताए । उनले आइतवार पोखरामा भने, ‘१ र ३ वाग्मती प्रदेशमा एक हप्ताभित्र केपी ओलीको सरकारलाई हटाएर हामी सरकारमा जाने बारेमा सोचिरहेका छौं ।’ उनले तत्काल एमालेमा फर्कने वा अन्य कुनै पार्टीसँग एकता गर्ने नभई आफ्नै शक्तिको भरमा अगाडि बढ्ने बताए । बाहिर प्रचार भएजस्तो माओवादीसँग एकता नहुने उनले स्पष्ट पारे ।