पाँच दलीय गठबन्धनलाई वडा तहसम्म विस्तार गर्ने अध्यक्ष नेपालको घोषणा



मकवानपुर – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सरकारले पूर्णता पाउने बताउनुभएको छ । आज आयोजित मकवानपुर जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष नेपालले सरकारले पूर्णता पाएपछि पाँच दलको गठबन्धनलाई अघि बढाइने पनि बताउनुभयो । गठबन्धनका दलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा छन् ।

अध्यक्ष नेपालले पाँच दलको गठबन्धनलाई प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुर्याउने पनि बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिका कारण विद्रोह गर्नु पर्ने परिस्थिति सिर्जना भएको भन्दै अध्यक्ष नेपालले अब मिलेर जनताको हितमा काम गर्ने बताउनुभयो ।