बुधबारेमा हत्या गरेर फालिएकी महिलाको पहिचान खुलेन, धरानमा शव अलपत्र



 

बुधबारे– एक जना महिलाको शव धरानमा अलपत्र परेको छ । सनाखत हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती महिलाको शव अलपत्र परेको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र एक साता अघि अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो । प्रतिष्ठानमा शव परीक्षण गरिएको भए पनि आफन्त पत्ता नलाग्दा शव अलपत्र छ ।

प्रहरीले ती घटनाको प्रारम्भिक अनुसन्धान गर्दै ती महिलाको हत्या भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३०० मिटर पूर्व बर्ने चिया बगानमा घोप्टो परेको अवस्थामा महिलाको शव भेटिएको थियो ।

शवको प्रकृति हेर्दा कसैले महिलाको हत्या गरेको देखिएको थापाले बताए । प्रहरीले घटनाको अनुसन्धान अघि बढाउनुका साथै मृतकको सनाखतका लागि आफन्तको खोजी कार्य जारी राखेको छ ।

घटनास्थल इलाम जाने मेची राजमार्ग नजिक रहेको हुँदा मृतक इलामको समेत हुनसक्ने ठानेर झापा र इलामका प्रहरी एकाइमार्फत आफन्तको खोजी भइरहेको छ ।