घुस लिएको भिडियो खिच्दा दमक मालपोतमा पत्रकार घिमिरेमाथि आक्रमण



 

बिर्तामोड– पत्रकार खगेन्द्र घिमिरेमाथि हिजो मालपोत कार्यालयमा आक्रमण भएको छ । कर्मचारीले घुस लिइरहेको भिडियो छायाङ्कनपछि उत्पन्न विवादका क्रममा पत्रकार घिमिरेमाथि लेखापढी व्यवसायीले आक्रमण गरेका हुन् ।

मालपोतका कर्मचारीले सेवाग्राहीसँग घुस मागेको सुइँको पाएपछि खोज पत्रकार घिमिरे क्यामरापर्सनसहित मालपोत कार्यालय दमकमा पुगेका थिए । घुस लिएको भिडियो खिचेपछि विवाद भएको हो ।

कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले आक्रमण गरेका हुन्। पत्रकार घिमिरेका अनुसार मालपोत कार्यालयमा कर्मचारी राजवंशीलाई सेवाग्राही सुरेश साहले १० हजार घुस दिँदै गरेको भिडियो खिचिएको थियो ।

शिवसताक्षी नगरपालिका साबिक शिवगञ्ज गाविस–१ को जग्गा रोक्का गर्ने विषयमा सेवाग्राही साहले कर्मचारी राजवंशीलाई कार्यालयभित्रै घुस दिएको उनले बताए।

विवादका क्रममा लेखापढी व्यवसायीले पत्रकार घिमिरेमाथि लात्ती र मुड्की प्रहार गरेका हुन् । टाउको र शरीरका विभिन्न भागमा लात्ती र मुड्की प्रहार भएको पत्रकार घिमिरेले बताए ।

आक्रमणपछि पत्रकार घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा दोषी किटान गरी उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।

अनुसन्धान टिभीका सञ्चालक घिमिरे भ्रष्टाचार र घुसखोरीविरुद्धको अभियानमा निरन्तर सक्रिय छन् ।