मेचीनगरमा क्षयरोगका ६४ नयाँ बिरामी फेला



मेचीनगर– झापाकोे मेचीनगरमा चार महिनामा ६४ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । मेचीनगरमा नयाँ र पुराना गरी नियमित औषधि सेवन गर्नेको संख्या ९२ पुुगेको छ ।

यसअघि नगरमा २८ जनाले क्षयरोगको औषधि सेवन गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । विहीबार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत मेचीनगरका स्वास्थ्य केन्द्र्रमा कार्यरत स्वास्थ्यकर्मीहरु यो तथ्याङ्क दिएका हुन् ।

स्वास्थ्य शाखा संयोजक शशीकला राईले एउटै व्यक्तिमा चौथो पटकसम्म क्षयरोग देखिएको बताइन् । ‘पहिलो पटकमै क्षयरोग पुष्टि भएपछि नियमित औषधि सेवन गरेको व्यक्तिलाई चौथो पटकसमम क्षयरोग देखियो’, उनले भनिन् ।

खकार, छाला तथा एक्स–रे बाट क्षयरोगका किटाणु पत्ता लाग्ने गर्छ । मेचीनगरमा धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रबाहेक अन्य स्वास्थ्य केन्द्रमा खकार परीक्षणको व्यवस्था छैन । स्वास्थ्यकर्मीका अनुसार क्षयरोगको सबैभन्दा खतरा फोक्सोमा किटाणु फेला पर्नु हो ।

सन् २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य अनुरुप ‘दुईहप्ते खोकी क्षयरोग पो हो कि’ भन्ने मुलनाराका साथ स्वास्थ्य विभागले विभिन्न अभियान सञ्चालन गरिरहेको राईले बताइन् ।